प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक : निवर्तमान प्रदेश प्रमुख झा

प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक : निवर्तमान प्रदेश प्रमुख झा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – प्रदेश नं ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन् ।

सरकारले गर्ने कुनै पनि नियुक्ति निश्चित काम र समयको लागि हुने भएकाले यो प्रक्रियालाई आफूले सामान्य रूपमा लिएको हुँदा विचलित हुनुनपर्ने बताए। प्रदेश प्रमुख कार्यालयमा बुधबार आयोजित बिदाइ कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख झाले आफू निजामती कर्मचारीबाट आएकाले पनि यस्तो प्रक्रियामा अभ्यस्त रहेको बताए। पहिलो प्रदेश प्रमुख भएर आएको २२ महिनाको कार्यकाल अत्यन्त सफल रहेको भन्दै उनले प्रदेश प्रमुख भएर आफूले ‘के गर्न सकेँ के गर्न सकिनँ’ भन्ने कुरा समयले मूल्याङ्कन गर्ने बताए ।

‘म आउँदा जुन कामको लागि उत्साह, उमङ्ग र जिम्मेवारी थियो बिदाइ भएर जाँदा पनि त्यो जिम्मेवारी पूरा गर्न सकेको कारण त्यही खुशी लिएर जाँदैछु’, उनले भने। उनले प्रदेश सरकारको स्थापनासँगै संविधान र सङ्घीयता कार्यान्वयनमा आफूले गरेका काम सबैका सामु छर्लङ्ग रहेको उल्लेख गर्दै ती कामलाई उजागर गर्न सञ्चार माध्यमलाई आग्रहसमेत गरे। आफूले प्रदेश सरकारका बहुआयामिक सम्पूर्ण काम नजिकबाट हेर्ने र आफ्नो भूमिका निर्वाह गर्ने मौका पाएको उल्लेख गर्दै उनले प्रदेश सरकारले पनि कानुन निर्माणदेखि प्रदेशका योजना निर्माणमा राम्रोसँग काम गरेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले निवर्तमान प्रदेश प्रमुख झालाई मायाको चिनो प्रदान गरेका थिए। विसं २०३५ मा इञ्जिनीयरको रूपमा निजामती कर्मचारी सेवामा प्रवेश गरेका झालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारले २०७४ साल माघ ३ गते प्रदेश ५ को पहिलो प्रदेश प्रमुखको रूपमा नियुक्ति गरेको थियो ।