काठमाडौं—भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा रहेको बताएकी छिन्। मन्त्री अर्यालले नीजि गुठीका सन्दर्भमा गुठियारले भनेअनुसार नै अगाडी बढिने बताएकी हुन्।
सरकारले गुठीको विषय समेटिएको एकिकृत भूमि ऐन ल्याउन लागेको सन्दर्भमा गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलन समितिले बिहिवार मन्त्री अर्याललाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका गुठी बचाउ अभियानका अगुवाहरूलाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन्।
मन्त्री अर्यालले नीजि गुठीको सन्दर्भमा सरकारले धेरै चासो नदिने बताउदै गुठी संस्थानले हेर्दै आएको बाँकी गुठीलाई सुशासन कायम गर्दै व्यवस्थित गरिने बताइन्।
‘नीजि गुठीको हकमा यो नै यसको समाधान हो भनेर तपाइहरूले ल्याएको कुरा नै हामी ओके गरेर जान्छौ । बाँकी गुठी संस्थानले हेरेका गुठीका हकमा तपाइहरूले धेरै चासो नदिनुहोलाु,’ मन्त्री अर्यालले भनिन्, ‘हामी गुठीको सम्पत्ति जोगाउने अभियानमा छौ । सुशासन कायम गर्ने अभियानमा राज्य हो । यो जनता राष्ट्रकै निम्ती फाइदा हुने कुरा हो ।’ 
गुठीको समस्या अब लामो समय नरहने भन्दै मन्त्री अर्यालले छिट्टै सरकारले यसको समाधान गर्ने बताइन्। विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको ३ वटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उनले नीजि गुठी नीजि गुठियाराकै सम्पत्ति भएको बताइन्। ‘सरकारले नीजि गुठियाराको हक समाप्त गर्न खोजेका थिएनौ । नीजि गुठिलाई सरकारले हस्तक्षेप गर्ने थिएनु,’ मन्त्री अर्यालले भनिन्, ‘तत्कालिन प्रस्तावित गुठी ऐनको कुनै भाषाले तपाइहरूलाई त्रशित बनाएको रहेछ भने हामी जतिखेर पनि सच्याउन तयार नै थियौं।’
विगतमा जेजे भएपनि हल्लाको पछि लाग्नु भन्दा विधेयक फिर्ता लिएर सरकार अगाडी बढेको भन्दै उनले अब नयाँ ढंगबाट विधेयक अगाडी बढ्ने बताइन्।
गुठी संस्थानले हेर्दै आएको गुठी क्षतविक्षत भएको भन्दै सरकारको सम्पत्तिको रक्षा गर्न सरकार लागेको बताइन्। ‘दाताले पवित्र भावनाले नीजि सम्पत्ति गुठीमा लगेर राखे । तर अहिले मान्छेले बेचिबेचि क्षतविक्षत बनाइदिए। यतिधेरै ध्वस्त भएको छ हामीसँग जवाफै छैन । हाम्रो मौलिकता, संस्कृति नै हरायो,’ मन्त्री अर्यालले भनिन्।




प्रतिक्रिया