आज काठमाडौं उपत्यकाका २२ स्थानमा गाडी नचल्ने, यस्तो छ रुट

आज काठमाडौं उपत्यकाका २२ स्थानमा गाडी नचल्ने, यस्तो छ रुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) लाई मध्यनजर गर्दै २२ स्थानका मुख्य सडकमा सवारीसाधन नचलाउन अनुरोध गरेको छ ।

शनिबार बिहान ७ः०० देखि ११ः०० सम्म हुने म्याराथन दौडका लागि अत्यावश्यकबाहेकका सवारी नचलाउन र वैकल्पिक सडक प्रयोग गर्न महाशाखाले अनुरोध गरेको हो ।

म्याराथन दौड आज बिहान ७ः०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्य्विनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

यस्तै महाशाखाले शनिबार बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्य्विनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्य्विनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरे ।