मालपोतका कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन- गैंडासँग नलोभिनू

मालपोतका कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन- गैंडासँग नलोभिनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छिन्।

नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा कर्मचारीलाई निर्देशन गर्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न आग्रह गरिन्।

बाहिरै देखि मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउनेगरी काम गर्न उनले आग्रह गरिन्। तर कमजोर मनस्थिती नबनाउन आग्रह गर्दै मन्त्री अर्यालले सेवाभावका साथ प्रस्तुत हुन आग्रह गरिन्।

जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै गल्ती नगरेसी डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त ?,’ मन्त्री अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्‍नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताउनुभयो । तर गलत काममा भने साथ नदिने बताइन्।

काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन्। काम गर्ने क्रममा विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिइन्। मन्त्री अर्यालले भनिन्, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् । इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस् ।’