लण्डन – बेलायतकी ७३ वर्षीया एक बृद्धा बेलायत टु काठमाडौं यात्रामा निस्किएकी छन् । रोजी स्वाले पोप नामकी बृद्धा नेपालमा भूकम्प पीडितका लागि सहयोग जुटाउनका लागि लण्डनदेखि काठमाडौंसम्मको म्याराथनमा टर्की पुगेकी छन् । यो म्याराथनको दूरी ६ हजार माइल हुनेछ । उनले नेपालका भूकम्प पीडितलाई स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधार्नका लागि यो म्याराथन शुरु गरेको जनाएकी छन् ।
यो म्याराथन मानिसलाई खाना दिने कुरा मात्रै होइन उनीहरुलाई आफैं खाना उत्पादन गर्न सिकाउनको लागि पनि भएको उनको तर्क छ । उनले नेपालका भूकम्प पीडितलाई फेज वर्ल्डवाइड नामको संस्थामार्फत सहयोग गर्नेछिन् । उनी बेलायतको वेल्सस्थित टेन्बीकी बासिन्दा हुन् । उनले दिनमा करिब २० किमि यात्रा गरिरहेकी छन् । ‘‘म कहाँ सुत्छु भन्ने थाहा छैन । कहिले खेतमा सुत्छु, कहिले बाटोमा सुत्छु म उठ्छु र कुदछु,’’ उनले इन्स्टाग्राममा भनेकी छन् ।
उनले आफ्नो सामान रेड कार्टमा हालेकी छन् । उनी विश्वकै लंगेस्ट सोलो रनरका रुपमा पनि चिनिन्छिन् । उनले सहयोग जुटाउन २००४ मा विश्व यात्रा गरेकी थिइन् भने २०१५ मा अमेरिकाको यात्रा गरेकी थिइन् । उनले यसअघि रसियाका टुहुरा बालबालिकालाई पनि यस्तै म्याराथनमार्फत् सहयोग गरेकी थिइन् । २ अक्टोबर १९४६ मा स्वीजरल्याण्डमा जन्मेकी उनी बेलायतकी लेखक पनि हुन् । उनी गएको बिहीबार टर्कीको इस्तानबुल पुगेकी हुन् । अब उनी जर्जिया र अजरबैजान हुँदै नेपाल आइपुग्नेछिन् ।




प्रतिक्रिया