मानव तस्करका फन्दामा पढेलेखेकै धेरै

मानव तस्करका फन्दामा पढेलेखेकै धेरै


काठमाडौँ – सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेहरूमा पढेलेखेका धेरै देखिन्छन् भने ठग्नेहरू धेरैजसो कम पढेका छन् ।

झन्डै पचास लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ वर्षीय युवक डिपोर्ट भएर यही पुस ४ गते काठमाडौं उत्रिए। प्रहरीको मानव बेचबिखन ब्युरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता दस कक्षा पास मात्रै भएको बताए। थप अनुसन्धानपछि थाहा भयो, उनी स्नातकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन्।

मानव तस्करको फन्दामा परेको कुरा सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन् । दाङका यी युवाजस्तै मानव बेचबिखनमा पर्नेहरूमा उच्च शैक्षिक योग्यता भएका धेरै छन्। अनौठो त यो छ कि पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोपदेखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरूको शैक्षिक योग्यता भने कम छ।

मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडतको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढेलेखेकैहरू थोरै पढेका वा कमजोर शैक्षिक योग्यता भएकाहरूबाट ठगिन्छन्। १ सय ७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचबिखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ गुमाएको दाबी गरेका थिए। यो समाचार कान्तिपुर दैनिकमा छ ।