इरान-अमेरिका तनाव : नेपालीको सुरक्षा उच्च प्राथमिकतामा

इरान-अमेरिका तनाव : नेपालीको सुरक्षा उच्च प्राथमिकतामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले पश्चिम एसिया क्षेत्रमा उत्पन्न तनावबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस क्षेत्रमा गैरआवासीय नेपाली कामदारको बढी उपस्थिति रहेको जनाउँदै सरकारले त्यहाँका नेपालीको सुरक्षाको विषयमा उच्च प्राथमिकता दिएको जनाएको छ ।

त्यस क्षेत्रमा अवस्थित इरानसँग पछिल्लो समय अमेरिकाको बढ्दो तनावपूर्ण सम्बन्धतर्फ इङ्गित गर्दै सरकारले त्यसमा सम्बन्धित देशलाई शान्तिपूर्ण उपायबाट तनाव समाधान गर्न आग्रह गरेको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी सबै पक्षलाई यस्तो उपाय र कार्य गर्नबाट रोक्न आग्रह गर्दछौँ, जसले तनाव बढाउन सहयोग पु¥याउँछ । ” साथै सरकारले त्यस्ता गतिविधिले त्यस क्षेत्रको शान्ति र स्थायित्वलाई खतरामा पार्ने जनाएको छ ।

सरकारले सबै खालका विभेद र मतभेदलाई शान्तिमय माध्यमबाट समाधान गर्न आग्रह गर्दै त्यो नेपालको सैद्धान्तिक अडानसमेत रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेको छ । इराकमा रहेका नेपालीको सुरक्षाका लागि सरकारले विभिन्न निक(ायसँग समन्वय जारी राखेको छ । बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा त्यस विषयमा बैठकसमेत बस्यो । बैठकमा पश्चिम एसियामा उत्पन्न घटनाक्रम र सुरक्षाको समन्वय बलियो बनाउने विषयमा छलफल भयो ।

बैठकले मन्त्री ज्ञवालीको संयोजकत्वमा अन्तरनिकाय समन्वय समिति गठन गरेर काम गर्ने निर्णय गरेको छ । इरान र अमेरिकी तनावको परिस्थिति आकलन गरेर समितिले काम अगाडि बढाउने भएको छ । बैठकमा पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षास्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकको अवस्थालगायत विषयमा विश्लेषण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र मन्त्रालयका विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व थियोे ।

इरान–अमेरिका तनावको निशानामा रहेको इराकस्थित शान्ति सेनामा ७७ जना नेपाली छन् । बुधबारको क्षेप्यास्त्र आक्रमणले शान्ति सेनामा खटिएका नेपाली पनि खतरामा परेका छन् । इरानले इराकस्थित दुईवटा अमेरिकी सैन्य अड्डामा बुधबार क्षेप्यास्त्र आक्रमण ग¥यो । इरानले आक्रमण गरेका ती अड्डा नजिकै संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनका दुईवटा बेस क्याम्प छन् । इर्बिलको शान्ति सेनाको बेस क्याम्पमा आक्रमण भएको अमेरिकी सैन्य क्याम्पभन्दा मात्र एक किलोमिटरको दूरीमा थियो । त्यहाँ शान्ति सेनामा खटिएका नौ जना नेपाली सेना थिए ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।