नवनियुक्त सभामुखले एमसीसीबारे मुख खोले

नवनियुक्त सभामुखले एमसीसीबारे मुख खोले


काठमाडौं – नवनियुक्त सभामुख अग्नि सापकोटाले आफूविरूद्ध व्यक्ति हत्याबारे सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ खाएलगत्तै पदभारग्रहण गरेका सभामुख सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै आफूविरूद्धको मुद्दाबारे अहिले केही नबोल्ने बताएका हुन् ।

उनले आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बताए । ‘यस विषयमा धेरै बोल्नु परिवक्वता हुँदैन”, त्यस विषयमा आफूलाई बोल्न बाध्य नपार्न आग्रह गर्दै उनले भने, ‘केही विषय उठेका छन्, ती निरुपण हुँदै जान्छन् ।’

काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा रहेका व्यक्तिलाई सभामुख बनाएकोमा विरोध भइरहेको छ नि ? भन्ने प्रश्नमा सापकोटाले लोकतन्त्रमा विरोध सामान्य भएको प्रतिक्रिया दिए ।

सभामुख सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको बताएका छन् । उनले एमसीसीको विषयमा हतार गर्न नहुने प्रतिक्रिया दिए । सत्तारुढ दल नेकपाभित्र एमसीसीबारे फरक मत आइरहेका बेला सभामुखको यस्तो प्रतिक्रिया आएको हो ।

सञ्चारकर्मीहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्ययन गर्दै जाउँ न सबैले । यसलाई अहिले किन हतार गर्नुपर्‍यो र  ? एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छु ।’

उनले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताए । ‘हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु’, उनले भने, ‘केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्नेछु ।’

सभामुखमा निर्वाचित भएलगत्तै अब आफ्नो सम्पूर्ण ध्यान संसद्मा केन्द्रित भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताए ।

पदवहालीलगत्तै सभामुख सापकोटाले संसद्मा पेश गर्न विधेयक स्वीकृत गरेका थिए । सभामुखलाई कार्यकक्षमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत संसद्का कर्मचारीले स्वागत गरेका थिए ।