फेब्रुअरी महिनालाई देशभर ‘आयोडिन मन्थ’को रुपमा मनाईंदै

फेब्रुअरी महिनालाई देशभर ‘आयोडिन मन्थ’को रुपमा मनाईंदै


काठमाडौं – सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’को रुपमा देशभर मनाउने भएको छ । आयोडिनयूूक्त नूनको प्रर्वद्धन तथा यस सम्वन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीवाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप सन् २०१९ फेवुअरी महिना (तदअनुसार ०१ फेब्रुअरी २०१८) देखि १ महिनाभरी सरकारले ‘आयोडिन मन्थ’का रुपमा मनाउने भएको हो ।

यूनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक कार्यक्रम र गतिविधि संचालन गरिदै आएको छ । आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्धे देखिने गलगाँड सन् १९८५–८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनयुक्त नूनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकासको लक्ष्यअनुसार सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्नेको घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको NNMS काे सर्वे अनुसार ९४.५ प्रतिशत ५ बर्ष मुनिका वालवालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपयोग गरेको पाइएको छ । यस उपलब्धिलाई निरन्तरता दिन सम्वन्धित सबै निकायहरुले ध्यान दिनु जरुरी रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुको माध्यमबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमश स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालय, हाटबजारमा माइकिङ्ग, चेतनामूलक सामाग्री बितरण, प्रदशनी र स्टल राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट टेडिङ्ग कर्पोरेशनले जनाएको छ ।

नेपाल सरकारले विगत ५५ बर्ष देखि साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडलाई आधिकारीक विक्रेताको जिम्मा दिइएको छ । यस लिमिटेडले ग्रामिणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिहरुका साथै दुई वालवालिका चिन्ह अंकित पाकेट नून सुलभ मुल्यमा बिक्री वितरण गर्दै आएको छ ।

आयोडिन मन्थका रुपमा लिइएको यो महिनामा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल व्याग, टी सर्ट, पम्पेलेट आदि जस्ता सामाग्री उत्पादन गरी गाऊ गाऊमा, हाटबजारमा जनचेतना अभिवृद्धी गर्न प्रचार प्रसार र वितरण कार्यहरु गर्दै आएको छ ।

यसरी नै देशका २१ जिल्लाहरु दिपायल, डडेलधुरा, महेन्द्रनगर,टिकापुर,धनगडी, नेपालगंज,सुर्खेत,दाङ,कृण्णनगर, भैरहवा,पोखरा,वागलुङ्ग,नारायनगढ,वनेपा,हेटौडा,वीरगंज,जनकपुर,राजविराज,लाहान,बिराटनगर,बिर्तामोड आदि विभिन्न स्थानहरुमा विभिन्न प्रकारका कार्यक्रमहरु गरि आयोडिन युक्त नूनको प्रचारप्रसार गरिरहेको छ ।

यसको मुख्य उद्धेश्य आयोडिनको कमिवाट हुने बिभिन्न प्रकारका रोगको संक्रमण तथा रोकथाम गर्नु, आगामी दिनमा पनि यसको प्रभावकारीताको बारेमा जनचेतना अभिवृद्धि गर्दै लैजानु रहेको छ ।