काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
उनीहरुविरुद्ध बुधवार सर्वोच्व अदालतमा रिट दायर भएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा अख्तियारले विशेष अदालतमा दुई जनाविरुद्ध मुद्दा दायर नगरेको भन्दै रिट दिएका हुन् ।
अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईविरुद्ध भने मुद्दा नचलाउने तय गरेको थियो । अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।
पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी लगायत विरुद्ध मुद्दा दर्ता भएको छ । पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्नेतको नाम पनि यो सूचीमा छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि कारबाही गरिएको भन्दै विरोध गरिरहेको छ ।




प्रतिक्रिया