काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले २५ औं जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ ।
अनेरास्ववियूले जनयुद्ध दिवसको अवसरमा काठमाडौंमा बेलुन उडाएको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसबाट ‘२५ औं जनयुद्ध दिवस जिन्दावाद’ लेखिएको ब्यानरसहित बेलुन उडाइएको हो ।
कार्यक्रममा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

अनेरास्ववियूले फागुन १ गते देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ । नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवस भव्यताका साथ मनाइरहेको छ ।
त्यस्तै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले २५ औं जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका छन् । उनले जनयुद्धका बाँकी राजनीतिक कार्यभार पुरा गर्न ईमान्दारीपुर्वक लागी पर्ने प्रण गरेका छन् । सह–संयोजक तामाङले शहीदका सपना पुरा गर्न लागी पर्ने बाचा गरेका छन् ।
‘जनयुद्ध नेपाली जनताको ऐतिहासिक पहलकदमी, युद्ध र विद्रोह थियो । ईतिहासको पानामा नेपालको ऐतिहासिक जनयुद्ध संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको सुडेनिको भुमिका निर्वाह गरेको थियो’, उनले भनेका छन्, ‘त्यसैले आजको यस ऐतिहासिक दिनमा जनयुद्धका महान सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहान्छु । सबै बेपत्ता योद्धाहरूप्रति सम्मान प्रकट गर्न चाहन्छु । सबै घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना र उहाँहरूप्रति सम्मान प्रकट गर्न चाहान्छु । सहिद, बेपत्ता र घाइतेका परिवारका सदस्यहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।’





प्रतिक्रिया