नेपाली सेनासम्बन्धी तीनदिने बृहत् प्रदर्शनी

नेपाली सेनासम्बन्धी तीनदिने बृहत् प्रदर्शनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा तीनदिने बृहत् प्रदर्शनी आरम्भ भएको छ ।

जङ्गीअड्डा परिसरमा सेनाले आयोजना गरेको प्रदर्शनीको बलाधिकृत रथी शरदकुमार गिरीले आज उद्घाटन गरे । प्रदर्शनीमा सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर आफ्नो जिम्मेवारी निर्वाहका क्रममा गरेका उल्लेखनीय काम झल्किने तस्बिर तथा हातहतियार, ऐतिहासिक एवं हालका उपकरण, पोसाक र सैन्य सामग्री समावेश छन् ।

प्रदर्शनीमा काठमाडौं उपत्यकाका शैक्षिक प्रतिष्ठान, सेना, प्रहरी, सशस्त्र प्रहरी बलका साथै सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आमनागरिकले सेनालाई नजिकबाट चिन्ने र सेनाप्रतिको सकारात्मक भावना अभिवृद्धि गर्ने लक्ष्यसाथ प्रदर्शनीमा आमन्त्रण गरिएको बताइएको छ ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञानदेव पाण्डेले सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने संवैधानिक जिम्मेवारी तथा नेपाल सरकारबाट प्राप्त कानुनसम्मत निर्देशन विश्वसनीय रूपमा पूरा गर्दै आएको बताए ।

प्रदर्शनी अवलोकन गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख, राजधानीस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारी, पुरातत्त्व विभाग, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानलगायत संघ(संस्थाका प्रमुख तथा पदाधिकारी जङ्गी अड्डा पुगेका थिए ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा उक्त निर्देशनालयको संयोजनमा आयोजित प्रदर्शनी तेस्रो संस्करणको हो । विगत तीन वर्षदेखि सेना दिवसको अवसर पारेर हरेक वर्ष यस्तो बृहत् प्रदर्शनी हुँदै आएको छ ।