काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विजय सुब्बाले नेपाल रेडक्रस सोसाइटीमा गृहमन्त्रीका रामबहादुर थापा बादलका सल्लाहाकारको संलग्नता रहेको दाबी गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सुब्बाले सुब्बाले गृहमन्त्रीका सल्लाहकार आफैँ भ्रष्टाचारीहरुसँग मिलेर ‘सेटिङ’ धन्दा चलाइरहेको आरोप लगाए ।
‘गृहमन्त्रीका राजनीतिक सल्लाकार सेटिङमा लागेर भ्रष्ट्रहरुको पक्षमा काम गरिरहनु भएको छ’, उनले भने, ‘यो कुरा गृहमन्त्री आफैंले पनि बुझ्नुभएको छ ।’
गृहमन्त्रीलाई सल्लाह दिने व्यक्ति नै सेटिङमा भ्रष्टहरुको पक्षमा लाग्दा पनि सरकारले जोगाइरहेको उनले गुनासो गरे । सांसद सुब्बाले सल्लाहकारको नाम भने लिएनन् । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिक र सुरक्षा सल्लाहकार इन्द्रजित राई रहेका छन् ।
‘उहाँ (गृहमन्त्री) लाई सल्लाह दिने सल्लाहकार आफैं त्यो सेटिङमा लागेर भ्रष्टहरुको पक्षमा काम गर्दा हामीले भनेकै हो’, उनले भने, ‘तपाईंका प्रमुख सल्लाहकारले तपाईलाई ‘मिस गाईड’ गर्दैछन् भनेर हामीले पहिले नै खबर गरेका हौँ । बजारमा २० लाख कि २५ लाख खाएको हल्ला छ ।’
उनले महान्याधीवक्ता र न्यायाधीशहरुले पनि पैसा खाएको अर्को आरोप लगाए । सांसद सुब्बाले सेटिङमा रेडक्रसभित्र भ्रष्टाचार भइरहेको र यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हेर्न नसकेको प्रतिक्रिया दिएको बताए । रेडक्रसको रक्तसञ्चार केन्द्र, जग्गाखरिद लगायतका विषयमा करोडौं भ्रष्टाचार भएको उनले बताए ।
‘यो बारेमा सीआईबीमा म आफैं पनि गएको थिएँ । सीआईबीले हामीले हेर्न सकेनौं भन्छ । अदालतमा गयो, अदालतले मुद्दा कमजोर छ भन्दिन्छ सरकारी वकिलले, महान्याधिवक्ताले । सबै सेटिङले त्यहाँ पनि हराइदिहाल्छ’ सांसद सुब्बाले भने ।




प्रतिक्रिया