काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार एक विज्ञप्ति जारी गर्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
माओवादीको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक र आपत्तिजनक समेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नुपर्यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदै नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उहाँको निधन भएको यतिका बर्षपछि ऐतिहासिक तथ्यलाई तोडमोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुस्खद छ,’ प्रवक्ता शर्माद्वारा विज्ञप्तिमा भनिएको छ ।
माओवादीको आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको कुरा ऐतिहासिक तथ्य भएको प्रवक्ता शर्माले बताए । हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउने नेताले नै आक्रमणका लागि प्रेरित गरेको भन्नु आफैँमा विरोधाभासपूर्ण रहेको उनको भनाइ छ ।
प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्, ‘जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराउँदछु ।’




प्रतिक्रिया