कत्तै एक गेडा चामल छैन्, कत्तै राख्ने ठाउँ छैन


 

 

पुस, ९ जाजरकोट । यहाँको सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानमा चामल बिक्री हुनसकेको छैन । बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन् ।

जिल्लाका नायकवाडाको घाट, पजारुको घोगी र दसेराका खाद्य अहिले रित्तै छन् । ढुवानी जिम्मा लिएका ठेकेदारले समयमै डिपोमा चामल नपु¥याउँदा यस्तो अवस्था आएको हो । गाउँका स्थानीयवासीले संस्थानले बिक्री गर्ने सहुलियतको चामल पाउन सकेका छैनन् ।

सदरमुकाम खलङ्गामा रहेको संस्थानको गोदाममा बिक्री नहुँदा दुई हजार १७२ क्वीन्टल चामल मौज्दात छ । चालू आर्थिक वर्षमा ३०० क्वीन्टल चामल मात्र ढुवानी भएको छ । चालु आवका लागि स्वीकृत तीन हजार १०० क्वीन्टल चामल ढुवानी हुन बाँकी नै रहेको संस्थानले जानकारी दिएको छ ।

सबै स्वीकृत चामल आएमा राख्ने ठाउँको समेत समस्या हुने संस्थान प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा जिल्लाका तीन डिपोमा भने चालु आवमा चामल पुग्न सकेको छैन । नायकवाडा खाद्य डिपोमा चामल ढुवानी गर्ने जिम्मा लिएका लक्ष्मण निर्माण सेवाका भक्तबहादुर बस्नेतले चालु आवमा तीन क्वीन्टल मात्र चामल ढुवानी गरेका छन् । नायकवाडामा माग अत्यधिक रहे पनि ठेकेदारले समयमा चामल ढुवानी नगर्दा समस्या भएको स्थानीय प्रेम शाहीले बताउनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस
Advertisement