काठमाण्डु–परराष्ट्रमन्त्री शिशिर खनालले उत्तर छिमेकी चीनले दुई छिमेकी र अरु अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध कायम राख्न सुझाएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले त्यस्तो प्रष्टीकरण दिएका हुन् ।
मन्त्री खनाल बुधबार मात्र औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका थिए ।
विपक्षी दलका सांसदले बेइजिङमा भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले विदेश नीति सञ्चालन गर्दा ‘ढाटाको मित्र भन्दा नजिकको छिमेकी’ लाई प्राथमिकतामा राख्न सुझाव दिएको बारे खनालसँग जिज्ञाशा राखेका थिए ।
जवाफमा खनालले आफूसँग भेट भएकै दिन विदेशमन्त्री वाङ मंगोलिया भ्रमणबाट फर्किएको र रात्रि भोजका क्रममा आफूले मंगोलिया भ्रमणबारे सोधेपछि छिमेकी र ढाटाको मित्रबारे बताएको उल्लेख गरे ।
नेपालले आफ्ना दुई छिमेकीसँग घनिभूत र अरु मित्र राष्ट्रसँग राम्रो राख्नुपर्ने सुझाव वाङले दिएको बताए ।
‘दुई पक्षीय मिटिङपछि खाना खाने क्रममा एकदमै अनौपचारिक कुराकानी भयो । उहाँ त्यसै दिन मंगोलियाको भ्रमणबाट फर्किनुभएको थियो । मैले मंगोलियाको भ्रमण कस्तो भयो भनेर सोधेको थिएँ । जवाफमा उहाँले मंगोलियाको पनि नेपालजस्ता दुई छिमेकी छन् । तर, उनीहरुको टाढाको तेश्रो छिमेकी पनि छ भन्ने घोषित नीति छ । दुःख पर्दा सधैं काम लाग्ने नजिकका छिमेकी हुन्छन् । नेपालले चाहिं त्यस्तो नीति लिएको छैन भन्ने म बुझ्छु । नेपालले आफ्नो दुई छिमेकीसँग घतिभूत सम्बन्ध राख्नुपर्छ र अरुसँग पनि राम्रो सम्बन्ध राख्नुपर्छ भनेको सन्दर्भ हो ।’




प्रतिक्रिया