काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति निन्दा व्यक्त गरेको छ ।
नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
नागढुंगा–मुग्लिन सडक खण्डको अवलोकनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिने धम्की दिएका थिए ।
दुलालले प्रधानमन्त्रीले सार्वजनिक गरेको देश बनाउने टिमका सदस्यबाट त्यस्तो अभिव्यक्ति आउँदा नवयुवाले के सिक्ने भन्ने प्रश्न पनि गरेका छन् ।
‘हिजो प्रधानमन्त्रीले देश बनाउने तीन सदस्यीय जम्बो टोलीको फोटो सार्वजनिक गर्नुभएको थियो । त्यस लगत्तै एक सदस्य योद्धा मन्त्रीजीले निर्माण व्यवसायीको खुट्टा भाँच्न सार्वजनिक रुपमा निर्देशन दिनुभएछ’, दुलालले लेखेका छन्, ‘वाह ! विधिको शासन की धम्किको शासन मन्त्री जी ! तपाईको उक्त अभिव्यक्ति निन्दनीय छ । तपाई देशको मन्त्री, युवाको आदर्श ! तपाईबाट नवयुवाले के सिक्ने ?’
सुकुम्वासी बस्तीमा अमानवीय आक्रमण, कैलालीमा टेम्पो भिरबाट गुल्ट्याउने र घरका छानामाथि ढुंगा हान्ने बहादुर सरकारले निर्माण व्यवसायीलाई खुट्टा भाँच्ने निर्देशन दिनु ठूलो कुरा नभएको टिप्पणी उनको छ ।
दुलालले अतिक्रमित भूमिबारे भारतसँग बोल्न डिप्लोम्याटिक च्यानल प्रयोग गर्नुपर्ने बताउने सरकारका मन्त्री नेपाली थर्काउन पर्याप्त रहेको बताए ।
सरकार नेतृत्वकर्ता रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भनेका छन्, ‘अतिक्रमित भूमिको बारेमा भारतसँग बोल्न पो ‘डिप्लोम्याटिक च्यानल्ज’ प्रयोग गर्नुपर्छ त नेपाली थर्काउन त मन्त्री नै पर्याप्त छन् नि होइन्, कि कसो सभापति जी ?




प्रतिक्रिया