काठमाण्डू– यशोदा फुड्स प्रालिद्वारा उत्पादित करेण्ट चाउचाउ नखान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आग्रह गरेको छ ।
विभागले उक्त चाउचाउ गुणस्तरहीन रहेकाले खान योग्न नरहेको बताएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा उद्योग रहेको उक्त चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुरुप नभएको विभागको भनाइ छ । उक्त उद्योगका सञ्चालक कमलकिशोर मालपानी हुन् ।
बजार अनुगमनका क्रममा गुणस्तर जाँच गर्दा चाउचाउमा ‘एक्सट्राक्टेड पपायाको एसिड भ्यालु’ सरकारले तोके बमोजिम नपाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागले बजारबाट उक्त चाउचाउ फिर्ता गर्न र बिक्रीवितरण नगर्न निर्देशन दिएको छ । ‘यस विभाग वा अन्तर्गतको निकायबाट बजार अनुगमन/निरिक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ बमोजिम सङ्कलन गरिएको तपसिल बमोजिमको खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा देखिएको उत्पादनबाट उत्पादित उक्त खाद्य पदार्थमा एक्स्ट्राक्टेड पपायाको एसिड भ्यालु नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप नभएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (१) को प्रावधान बमोजिम उक्त दफा नम्बरका सबै खाद्य पदार्थ बजारबाट फिर्ता गर्न साथै सोही दफाको उपदफा (४) बमोजिम बिक्री वितरण नगर्नु/नगराउनु हुन महानिर्देशकज्यूको निर्देशनअनुसार सम्बन्धित उत्पादकलाई यो आदेश जारी गरिएको छ’, विभागद्वारा जारी सूचनामा छ ।





प्रतिक्रिया