काठमाण्डु–नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघभित्रको विवाद सुरु भएको छ । राष्ट्रिय महाधिवेशनको मुखमा संघभित्रको विवादले उग्र रूप लिएको हो ।
संघभित्र संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल समूहबीच विवाद चर्किएको छ । पार्टीले गत फागुनभित्र महाधिवेशन गर्न निर्देशन दिए पनि संयोजक विकले त्यसलाई लत्याएर कार्यकाल लम्ब्याउन खोजेको भन्दै पौडेल समूह असन्तुष्ट छ । असन्तुष्ट पौडेल समूहले महाधिवेशनको मिति तोक्न भन्दै २६ जेठमा राष्ट्रिय भेला बोलाएको छ ।
अध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशको सांसद र मन्त्री बनेपछि कृष्ण विकलाई संयोजक र नितेश पौडेललाई सहसंयोजक तोकेर फागुनभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो । तर, जेठ सकिनै लाग्दा पनि महाधिवेशन हुने कुनै छाँटकाँट नदेखिएपछि पौडेल समूहले छुट्टै भेला बोलाएको हो । युवा संघको महाधिवेशन हुन नसकेकाले भेला बोलाइएको केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष फुर्वा तामाङले बताए ।
संयोजक विक पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष नेपालका भान्जा हुन् । पौडेल पक्षले भेला बोलाएपछि संयोजक विकले विज्ञप्ति निकालेर युवा संघले कुनै भेला नबोलाएको जानकारी दिएका छन् ।
‘पार्टीको महाधिवेशन नजिकिँदै गर्दा यस्ता गुटगत भेलाले पार्टी आन्दोलन र संगठनलाई कमजोर बनाउँछ । यस प्रकारका गतिविधिले महाधिवेशन प्रभावित पार्ने र नेता कार्यकर्ताबीच असहिष्णुता पैदा गर्दछ । नेता कार्यकर्तालाई पार्टीविरुद्ध भइरहेको षड्यन्त्रबाट सचेत हुँदै आसन्न महाधिवेशन सफल बनाउन जिम्मेवारीपूर्वक लाग्न निर्देशन गर्दछु,’ विकले विज्ञप्तिमा भनेका छन् । संयोजक विकले भेला नरोकिए सहसंयोजक पौडेललगायतमाथि कारबाही हुने चेतावनी पनि दिएका छन् ।
नेकपा एसको महाधिवेशन १६–२० असारसम्म हुँदै छ । महाधिवेशनमा वर्तमान अध्यक्ष नेपाल र सम्मानित नेता खनाल अध्यक्षको तयारीमा छन् । आन्तरिक रूपमा नेपाल र खनाल दुवैले अध्यक्षको तयारी गरेकाले त्यसको असर युवा संघमा देखिएको पार्टीका नेताहरू बताउँछन् ।




प्रतिक्रिया