रेल विस्तार अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै


काठमाडौं – राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् ।

भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । उक्त रेल स्टेसनले भारतमा अंग्रेज शासनको पालादेखि नेपाल–भारत जोडेको छ । त्यहाँबाट सीमावर्ती नेपाली गाउँ पिप्रहवा हुँदै राँझासम्म सर्भे गर्ने कार्यक्रम छ । अध्ययन टोलीले यसअघि नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सिधै राँझासम्म रेल सेवा विस्तारको प्रस्ताव गरेको थियो । ‘रेलका लागि लिक निर्माण आवश्यक पर्छ । त्यसैले बस्तीबाहेकको क्षेत्र रोजिएको छ,’ रेल सेवा विस्तार फाइनल लोकेसन सर्भे टोलीका सदस्य गणेशबहादुर शाहीले भने ।

जिल्ला प्रशासन, मालपोत, नापी, वन र भन्सार कार्यालयका अधिकारी टोलीमा सदस्य छन् । भारतीय अधिकारीले रुपैडिहा रेल स्टेसनबाट लिक सुरु गरी राँझा विमानस्थल नजिकैको सोल्टी होटेलसम्म सिधा विस्तार गर्ने प्रस्ताव गरेका छन् । राँझा विमानस्थल बीचमा पर्ने भएकाले त्यहाँबाट पश्चिमतर्फ डाइभर्सन गरिनेछ । ‘फोर लेन सडकलाई डाइभर्सन गर्न आकासे पुल निर्माण गर्ने प्रस्ताव छ । यसो गरिँदा फोर लेन सडकलाई कुनै समस्या हुनेछैन,’ सदस्य शाहीले भने, ‘राँझा विमानस्थलको पश्चिम हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्ने योजना छ ।’ कान्तिपुरमा समाचार प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
Advertisement