सात लाखको जग्गा प्रदान


बाबियाचौर (म्याग्दी), ९ पुस । म्याग्दीको भगवतीमा रहेको स्वास्थ्य चौकीलाई स्थानीयवासीले रु सात लाख ५० हजार बराबरको जग्गा खरिद गरेर उपलब्ध गराएका छन् ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि दुई व्यक्तिले चार रोपनी भन्दा बढी जग्गा उपलब्ध गराएका हुन् । भवबहादुर भण्डारीले रु साढे छ लाखमा तीन रोपनी र लोकबहादुर भण्डारीले रु एक लाख भन्दा बढीमा एक रोपनी जग्गा खरिद गरेर उपलब्ध गराउनुभएको स्वास्थ्य चौकीका प्रमुख अहेब टीकाबहादुर शाहीले जानकारी दिनुभयो ।

जग्गाको व्यवस्था भएपछि सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाउने तयारी गरेको छ । एक दशकदेखि जीर्ण अवस्थामा रहेको दुई कोठे भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी समेत छैनन् ।

भवन साँघुरो र जीर्ण रहेकाले औषधि भण्डारण, परामर्श, बिरामीको स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूती सेवा प्रवाह गर्न समस्या भएको हो । गाविसले उपलब्ध गराएको भवनबाट जसोतसो सेवा दिइरहेको स्वास्थ्य चौकीका प्रमुख शाहीले बताउनुभयो ।

सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेग गाविसका बासिन्दाले सेवा लिँदै आएका छन् । सेवाग्राहीको सङ्ख्या दैनिक २० जनाको अनुपातमा रहेको छ । विभिन्न तहका ६ जनाको दरबन्दी रहेको चौकीमा हाल एकजना करारकासहित दुईजना स्वास्थ्यकर्मी र एकजना कार्यालय सहयोगी रहेका छन् ।
सबै सेवा एउटै कोठाबाट दिनुपर्दा बिरामीले आफ्नो समस्या स्पष्टसँग व्यक्त गर्न नसक्ने र लजाउने गरेको अनमी विपासा परियारले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement