रौतहट– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारका निर्णयमाथि पार्टीको निगरानी रहने बताएका छन् ।
रौतहटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै लामिछानेले बालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको बताए ।
तर, सरकारबाट हुने निर्णयले जनतालाई लाभ नभई क्षति पुर्याउने अवस्था आए त्यसलाई सच्याउनुपर्ने र पार्टीले सच्याउने उनको भनाइ थियो ।
‘सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ,’ लामिछानेले भने, ‘नियतमै समस्या भयो भने सच्याउन सकिँदैन ।’
उनले उदाहरण दिँदै किसानको हितका लागि ल्याइएको नीति व्यवहारमा किसानकै विपक्षमा देखिए त्यसलाई सुधार गर्न सकिने बताए।
सरकारका निर्णयलाई अन्तिम र अपरिवर्तनीय रूपमा नलिन आग्रह गर्दै लामिछानेले केही समय धैर्य गर्न पनि आग्रह गरे।
‘कुनै निर्णयले लाभ होइन हानी भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ,’ उनले भने, ‘त्यसमा चिन्ता गर्नु पर्दैन। तर अलिकति समय हामीले दिनुपर्छ ।’
सरकारका कामबाट ठूलो क्षति हुने अवस्था आए पार्टीले तत्काल भूमिका खेल्ने उनले बताए ।
‘पार्टीले आफ्नो अभिभावकत्व लिनबाट कहिल्यै पछि हट्दैन, चिन्ता नगर्नुहोला। पार्टी अभिभावक हो, पार्टीले हेर्नेछ,’ लामिछानेले भने ।
उनले समयक्रममा केही विवादित विषय सही साबित भएका उदाहरण पनि रहेको उल्लेख गरे। तर सरकारका नीति तथा निर्णयहरू आवश्यकता अनुसार परिमार्जन हुन सक्ने स्पष्ट पारे ।
किसान, मजदुर, गरिब तथा विपन्न वर्गलाई असर गर्ने नीति देखिए परिवर्तन गरिने उनको भनाइ थियो ।
‘सरकारले लिएको नीति किसानलाई अप्ठ्यारो पार्ने, मजदुर वर्गलाई अप्ठ्यारो पार्ने, गरिब विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कालान्तरमा देखिएको खण्डमा त्यस्ता कुनै पनि नीतिहरू परिवर्तन हुन्छन्,’ उनले भने, ‘यो अपरिवर्तनीय कुरा होइन, परिवर्तन हुन सक्छ । थोरै समय मात्र धैर्यता गरिदिनुहोला ।’
यस्तै, रास्वपाले गलत दिशा लिन थालेमा नेता तथा कार्यकर्ताले खबरदारी गर्नुपर्ने लामिछानेले बताए ।




प्रतिक्रिया