सिक्टा सिँचाइको भत्किएको नहर तत्काल पुनर्निर्माण गर्न ऊर्जा मन्त्रालयको निर्देशन


काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ बहुउद्देश्यीय आयोजनामा भत्केको नहर तुरुन्त पुनर्निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको छ ।

ठेकेदारले भत्केको खण्डको काम पूरा भएको र यो आफ्नो दायित्वभित्र नपर्ने बताइरहँदा मन्त्रालयले यस्तो निर्देशन दिएको हो । काम गरिरहेको कालिका कन्सट्रक्सनले पूरा भएको खण्ड अझै आयोजनालाई हस्तान्तरण गरेको छैन । याे पूर्वसांसद विक्रम पाण्डेकाे कम्पनी हाे ।

निर्माण पूरा भएको खण्डमा परीक्षणका लागि पानी छोड्दा गत सोमबार (साउन ७ गते) नहर भत्केको थियो । कमजोर भौगर्भिक अवस्थाका कारण नहर भत्केको दाबी गरिए पनि विस्तृत अध्ययनको अभाव र ठेकेदारको कमजोरीले भत्केको स्थानीयको भनाइ छ ।

यसअघि २०७३ असार १४ गते पनि पूरा भएको खण्डको नहर भत्केको थियो । पटक–पटक नहर भत्किने समस्या दोहोरिएपछि मन्त्रालयले यसलाई उच्च निगरानीमा राखेको छ । समस्याग्रस्त ठाउँको पुनर्निर्माण गरी गुणस्तरअनुसार काम गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

राप्ती नदीमा बाँध निर्माण गरी बाँकेमा ४२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले आयोजना निर्माण भइरहेको छ । अहिलेसम्म मुख्य नहरको ३५ किलोमिटर काम पूरा भएको छ ।

ठेकेदारले काम पूरा गरी आयोजनालाई हस्तान्तरण नगरेकाले विद्यमान समस्या समाधान गर्ने दायित्व उसैको हुने मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । ‘यस प्रकृतिको समस्या दोहोरिन नदिन समस्याग्रस्त सम्भावित स्थानको भौगर्भिक अवस्था तथा माटो परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘यस सम्बन्धमा विशेषज्ञसहितको संलग्नतामा सुक्ष्म प्राविधिक अध्ययन गरी आवश्यक काम गर्न आयोजनालाई निर्देशन दिइएको छ ।’

आयोजनाका अनुसार अहिलेसम्म मुख्य नहरको करिब ५५ प्रतिशत निर्माण पूरा भएको छ । साथै, शाखा नहरहरू निर्माण भइरहेको छ । सिधनिया शाखा नहर अन्तिम चरणका रहेको जनाइएको छ । आयोजनाका अनुसार डुंडुवा शाखा नहरको निर्माण तथा पुनर्स्थापना र पूर्वी मुल नहर निर्माणाधीन छन् । अन्य शाखा नहरहरू निर्माण गर्न आवश्यक तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement