काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकबाट लोकतन्त्रलाई असर पर्ने कुनै विषय भए देखाइदिन आग्रह गरेका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले घुमाउरो भाषामा संसदीय समिति विधेयक संशोधनमा चुकेको बताए ।
उनले सरकारले विजनेस दिएको र संसदको विकास तथा प्रविधि समितिले उपसमिति बनाएर छलफल गरेको टिप्पणी गरे ।
‘हामी त्यहाँ बालको खाल उतार्ने गरी प्रस्तुत भएनौं’, बाँस्कोटाले भने, ‘विकास तथा प्रविधि समितिमा यो विधेयक लामो अवधि रह्यो । ३६ विषयमा त्यहाँ उपसमितिले संशोधन गर्यो । संशोधन पनि नभनौं, समृद्ध बनायो, परिमार्जन गर्यो । त्यहाँ ८ वटा बुँदामा प्रतिपक्षी दल अरु दलको चासो समेटियो । हामी बालको खाल उतार्ने गरी प्रस्तुत भएनौं । किनभने लोकतन्त्रलाई कहीँबाट खतरा पर्नु हुन्न । यो ओठेभक्ती होइन ।’
मन्त्री बाँस्कोटाले विधेयकमाथि आफूले संसदमा घच्चाघच्ची बहस चाहेको बताए ।
‘संसदको पूर्ण बैठकमा छलफल बहस होला । इरर रहेछन् भने त्यहाँ पोइन्ट आउट होला । हामीलाई आग्रह स्वीकार्न गाह्रो हुन्छ तर सत्य स्वीकार्न पछि हट्दैनौं । लोकतन्त्रलाई असर पर्ने केही छन् भने त्यसमा छलफल भैहाल्छ । त्यसमा अर्को एउटा ठूलो प्रोसेस बाँकी छ । संसदमा र्याखर्याख्ती पार्ने बहस होस् । संसदमा घच्चाघच्ची बहस होस् । राम्रो कुरा आउँदा स्वागत गरिन्छ ।’




प्रतिक्रिया