१५० मेगावाट बिजुली भारत निर्यात


काठमाडौं – नेपालले तल्कालका लागि बिजुली भारत निर्यात गरेको छ । लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको भारत निर्यात गरिएको हो । विगत तीन दिनयता दैनिक एक सय ५० बिजुली निर्यात गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । यससँगै नेपालले इनर्जी बैंकिङको सुरुवात गरेको मन्त्री पुनले बताए ।

मन्त्रालयमा मंगलाबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, ‘बाढीले तराईमा बिजुलीको माग घटेकाले यो समयमा हामीलाई बढी भएको बिजुली भारत पठाएको हौं ।’ कुसाहा–कटैया प्रसारणबाट ११० मेगावाट र रक्सौल–परवानीपुरबाट ५० मेगावाट गरी कुल १५० मेगावाट बिजुली निर्यात भएको मन्त्री पुनले बताए । उनका अनुसार यी दुई प्रसारण लाइनका विभिन्न सातवटा विन्दुबाट बिजुली भारत पठाइएको हो । बुधबारदेखि भने तराईमा विद्युत् आपूर्ति नियमित भइ माग बढेपछि भारत निर्यात रोकिनेछ ।

बाढीका कारण तराईमा विद्युत्को माग घटेपछि नेपालले विगत तीन÷चार दिनदेखि दैनिक १५० मेगावाट बिजुली भारत निर्यात गरेको पनि उल्लेख छ । नेपालले बढी हुँदा बिजुली निर्यात गर्ने र आवश्यक पर्दा ल्याउने गरी गरिएको इनर्जी बैंकिङको सदुपयोग भएको ऊर्जा सचिव दिनेश घिमिरेले बताए ।

घिमिरेले भने आवश्यकताअनुसार भारतबाट ल्याउने र बढी हुँदा पठाउने सर्तअनुसार नै हामीलाई बढी भएको बेला पठाएको हो । अब तराईका क्षेत्रमा बिजुली आपूर्ति हुन थालेपछि हामीलाई नै नपुगेर उतैबाट ल्याउनुपर्ने भएकोले निर्यात गर्न नसकिने जानकारी पनि घिमिरेले दिए । नेपालले यस अघि पनि सीमा क्षेत्रबाट बिहारमा बढी भएको बिजुली पठाउने र आवश्यक पर्दा ल्याउने गरिरहेको छ ।

मन्त्री पुनका अनुसार लगातारको वर्षाले जलाशययुक्त आयोजना कुलेखानीको सतह १५ सय २७ मिटर पुगेको छ । यसको क्षमता १५ सय ३० मिटर मात्रै हो । यो आयोजना भरिएपछि ९२ मेवागाटको यो आयोजना २४ सै घण्टा पूर्णक्षमतामै सञ्चालन भइरहेको छ । कुलेखानी भरिएपछि यसबाट हुने पूर्ण क्षमताको बिजुली उत्पादनले पनि हामीलाई धेरै भएको समयमा बिजुली निर्यात गर्न सहयोग पुगेको उल्लेख छ । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement