काठमाण्डु–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नरहेको बताएका छन् । थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्भित्र प्रतिपक्षको भूमिकामा रहने बताए ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले शनिबार आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन (२०८४) सम्म कांग्रेस प्रतिपक्षमै बस्ने बताए ।
महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताए ।
अबको तीन वर्षको समय पार्टीलाई पुनर्निर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ । थापाले कांग्रेसले चुनावमा गए अनुसारको प्रतिविद्धताअनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलहरूले प्रतिबद्धता बिर्सिँदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।
उनले भने, ‘कांग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन ।’
महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए । उनले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे । महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताए ।
उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गरे । आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उनको भनाइ थियो




प्रतिक्रिया