शनिबार सम्मको मौसमः हावाहुरी र मेघगर्जनसहित वर्षा हुने

शनिबार सम्मको मौसमः हावाहुरी र मेघगर्जनसहित वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज बिहिबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी मेघ गर्जनसँगै जोडिएर आउने गर्छ । प्रिमनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिइरहने गर्छ ।

राति देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैगरी शनिबार देशका पूर्वी भूभागमा पूर्ण बदली रहने तथा मध्य पश्चिम क्षेत्रका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । अपरान्हपछि देशका पूर्वी भूभागमा मेघ गर्जन र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्री सेल्सियस रहने छ ।

त्यस्तै, आज सबभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ।