काठमाण्डु – संखुवासभाको मादी नगरपालिका – १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति घरमा सँगै सुतेका सातमध्ये ६ जना मृत फेला परेका हुन् । तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।
तेजबहादुरको शव घरको आँगनमा भटिएको छ । श्रीमती मनमाया र बुहारी रन्जनाको शव घर नजिकै रहेको खोल्सीमा भेटिएको छ । दीपक र गोमाको शव घरदेखि माथि मकैबारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले बताएका छन् । तेजबहादुरका दुई भाइ र छोरा वैदेशिक रोजगारीमा छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान थाले पनि घटना किन र कसले गरायो भन्ने खुल्न सकेको छैन । संखुवासभाको यो घटना पारिवारिक हत्याको पहिलो घटना भने होइन ।
दुई परिवारका नौजनाको हत्या
६ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका – ३ आरुबोटेमा दुई परिवारका नौजनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । सो घटनामा एकजना बालिका घाइते भएकी थिइन् । एकै परिवारको पाँच र अर्को परिवारका चार गरी नौजनाको हत्या भएको थियो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । यो घटनामा संलग्न भनिएका मानबहादुर मोखिम २५ किलोमिटर टाडा झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनाबारे हाल पनि अनुसन्धान जारी छ ।
सामान्य विवादमा परिवारकै सदस्यवाट जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये ४० प्रतिशत आफन्तबाटै भएका छन् । संखुवासभाको घटनामा परिवारका सदस्यको संलग्नता छ छैन भन्ने खुलेको छैन । तर विगतमा परिवारकै सदस्यबाट भएका जघन्य हत्याले नेपाली समाज कता जाँदैछ भन्ने बहस खडा गरेको छ ।
नागरिकताका लागि परिवारकै हत्या
२०७५ जेठमा सप्तरीको राजविराजमा सामान्य विवादमा परिवारकै हत्या भयो । राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो । सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेको पुष्टि भयो । दाइले नागरिकता बनाउन सहयोग नगरेको रिसमा छिमेकीको सहयोगमा उनले हत्या गरेका थिए ।
भोजपुरका तीन बालबालिकाको हत्या रहस्यमै
२०७४ असारमा भोजपुर अरुण -१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लाग्न सकेको छैन ।
ज्वाइँसहित परिवारका ६ जनाको हत्या
२३ फागुन २०६२ मा नेपालगन्जका दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको रहस्यमय हत्या भएको थियो । घटनाको १३ वर्षपछि बल्ल हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो ।
आफन्त नै संलग्न बडिखेल हत्याकाण्ड
१६ असोज २०६० मा दशैँको महाअष्टमीका दिन ललितपुरको बडिखेलमा भानु नगरकोटीसहित उनकी ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र आठ वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । घटनाको १२ वर्षपछि आफन्तबाटै हत्या भएको पुष्टि भएको थियो । भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या गरेको थियो ।




प्रतिक्रिया