आगामी १० वर्षमा कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन हुन्छ: मन्त्री पुन


काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी १० वर्षमा कम्तीमा पनि १० हजार मेगावाट विद्युत् उत्पादन गर्नैपर्ने बाध्यता रहेको बताएका छन् ।

प्राधिकरणमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले सबैको सकारात्मक र सार्थक प्रयत्नबाट मात्रै त्यो लक्ष्य हासिल हुने बताएका हुन् ।

उनले वर्षेनी रु एक खर्ब बराबरको पेट्रोलियम पदार्थ आयातमात्रै रोक्न सके मात्रै पनि व्यापार घाटा कम गर्न सकिने बताउँदै ऊर्जामा नेपाललाई आत्मनिर्भर बनाउन पनि जलविद्युत् क्षेत्रमा विशेष लगानी जरुरी रहेको बताए।

उनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई इमान्दार भएर काम पनि गर्न निर्देशन दिएका छन् । सरकारले एकाध वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेकाले त्यसको आधार ऊर्जा नै भएकाले इमान्दार भएर काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सरकारको भावना, जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने प्रणालीको विकास गरिने स्पस्ट पारे ।

उनले कर्मचारीलाई अब परीणाम निकाल्ने गरि काम गर्न पनि निर्देशन दिए ।

उनले भने,‘ प्राधिकरणको प्रणालीमा रहेको चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउनुस् । अब कुनै पनि आयोजना रोकिनु हुँदैन । ’

मन्त्री पुनले लामो समयदेखि कुलेखानी तेस्रो निर्माण सम्पन्न हुन नसकेको, माथिल्लो त्रिशूली ‘ए’ आयोजनाको अवस्था भएको र माथिल्लो तामाकोशी आयोजना समेत लयमा छैन भन्ने सुनेको बताउँदै ती सबै काम अव समयमै सक्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement