भक्तपुरको कार्पेट कारखानामा आगलागी करिब दुई करोडको क्षति, दुई घाइते

भक्तपुरको कार्पेट कारखानामा आगलागी करिब दुई करोडको क्षति, दुई घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर- यहाँको दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ भने आगलागीमा परी दुईजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।

सन्तोषमान श्रेष्ठको ज्योति प्लाई कार्पेट कारखानामा शनिबार राति करिब १२ बजेतिर आगलागी भएको हो। आगलागीको सूचना पाउनासाथ भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट ७ वटा दमकल पुगेर आगो निभाएका थिए। आगो नियन्त्रणमा लिन नेपाल प्रहरीका ४७ जना र सशस्त्र प्रहरीको १३ जनाको टोलीसमेत परिचालन गरिएको थियो। चौतर्फी प्रयासपछि बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको भक्तपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन्। त्यस्तै, भारत घर घई उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भीर घाइते छन्। उनलाई सुरुमा उपचार गर्न भक्तपुरको डा इवामुरा अस्पताल लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै कीर्तिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

आगलागीको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ। हाल ठिमीबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले थप अनुसन्धान गरिरहेको छ। पछिल्लो समय देशव्यापी रूपमा आगलागीका घटनाहरू बढ्दै गएका छन्।