काठमाण्डु – गत बुधबार हङकङको वाङ फुक कोर्ट आवास क्षेत्रमा लागेको भीषण आगलागीबाट १४६ जनाको मृत्यु भएको छ । यो घटना विश्वमा नै सन् १९८० यताकै सबैभन्दा गम्भीर आवासीय आगलागी मानिएको छ ।
हङकङ प्रहरीका वरिष्ठ अधिकारी साङ सु–यिनले अहिलेसम्म १४६ जनाको मृत्यु पुष्टि भएको जनाएकी छन् । तर अझै थप मृतक भेटिन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
यद्यपी हङकङको भ्रष्टाचार नियन्त्रण निकायले घटनासँग सम्बन्धित ११ जनालाई पक्राउ गरेको छ ।
हङकङको आगलागीले धेरैलाइ चिन्तित बनाएको छ । हङकङ जस्तै काठमाण्डुमा पनि आगलागी भए कसरी छिटो नियन्त्रण गर्न सकिएला भन्ने प्रश्न पनि उठेको छ ।
हङकङमा आवासीय भवनहरूमा भएको आगलागीमा धेरैले ज्यान गुमाएसँगै नेपालमा पनि बढिरहेका गगनचुम्बी भवनहरू अग्निसुरक्षाका दृष्टिले असुरक्षित रहेको विज्ञहरू बताउँछन् ।
नेपालमा अग्ला भवनहरूमा अग्निनियन्त्रण गर्ने व्यवस्था नभए पनि सरकारी निकायहरूले १०० मिटरसम्म वा २५ तलासम्मका भवन बनाउन अनुमति दिँदै आएको अधिकारीहरू बताउँछन् । तर काठमाण्डु महानगरमा कति अग्लासम्म भवन बनाउन दिइने भन्ने स्पष्ट मापदण्ड छैन ।
काठमाण्डु महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार उपत्यकामा सबैभन्दा बढी आगलागी हुने जिल्ला हो काठमाण्डु हो । घनाबस्ती, विद्युतीय तथा आगो उत्पन्न गर्ने सामग्रीको बढी प्रयोग र धेरै उद्योग सञ्चालनमा रहेकाले यहाँ आगलागीको बढी जोखिम छ । काठमाण्डुपछि ललितपुरमा बढी आगलागी हुने गरेको छ ।
काठमाण्डुमा वार्षिक औसतमा डेढ सयदेखि दुई सय आगलागीका घटना हुन्छन् । गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन् ।
तर आगलागी नियन्त्रणका लागि देशको राजधानीमा चुस्त व्यवस्था नभएको विज्ञ तथा स्वयं आपतकालीन सेवामा खटिने कर्मचारीहरू बताउँछन् ।
दुई वर्षअघि काठमाण्डू महानगरपालिकाले नक्सालस्थित हिल्टन होटेलमा ३० मिटर उचाइका भवनसम्म आफ्ना अग्निनियन्त्रकलाई पुर्याउन सक्ने अत्याधुनिक दमकलसहितको भर्याङको परीक्षण गरेको थियो । परीक्षणमा हिल्टन होटेलका सबैभन्दा माथिल्लो तलासम्मै आगो निभाउन सकिने महानगरले बताएको थियो ।
तर भदौ २४ को प्रदर्शनमा हिल्टन होटेलमै आगजनी हुँदा महानगरको दमकलले निभाउन सकेन । त्यतिबेला उपकरणको भर्याङ बिग्रिएको दाबी महानगरले गर्यो । महानगरका अनुसार तीन/चार तलाभन्दा माथि आगाे लागे त्यहाँसम्म पुग्न भर्याङ छैन ।
नयाँसडकमा रहेको ऐतिहासिक जुद्ध वारुणयन्त्र अहिले महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । नेपालमा सबैभन्दा अत्याधुनिक वारुणयन्त्र काठमाण्डु महानगरपालिकासँग नै छ ।
अधिकारीहरूका अनुसार महानगरपालिकासँग अहिले पाँच वटा दमकल चालु अवस्थामा छ । सहरी विकास तथा भवन निर्माण विभागले भवन संहिता पनि बनाएको छ । जसमा अग्ला भवनहरूका लागि छुट्टै अग्निशमन मापदण्ड लागु गरिएको छ । अग्ला भवनहरूमा चारैतिरबाट अग्निनियन्त्रणका लागि दमकल जान सक्ने ठाउँ छोड्न अनिवार्य गरिएको छ ।
धूवाँ भएपछि अलार्म बज्ने प्रणाली जडान, भवनमा आगलागी हुँदा आपत्कालीन रूपमा बाहिरिने बाटो, आगोले सहजै नभेट्ने अलग्गै लिफ्ट, फायर हाइड्रन्ट उपकरण जडानजस्ता कैयौँ मापदण्ड भवन संहितामा उल्लेख छन् । तर यी सबै लागू भएको छ कि छैन त्यसको अनुगमन भइरहेको छैन ।
अग्निसुरक्षा इन्जिनियरहरूका अनुसार नेपालमा अग्ला भवन निर्माणको अनुमति दिइँदै आए पनि ती भवनमा अग्निसुरक्षाको पर्याप्त मापदण्ड अपनाइएको पाइदैन ।




प्रतिक्रिया