मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन, के भन्छ सरकार?

मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन, के भन्छ सरकार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको शान्तिबाटिकामा मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन भएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाण्डुका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिले घटनाको छानबिन गरी रिपोर्ट बुझाउने छ । सो घटनामा प्रहरीका डीएसपीसहित ८ जना घाइते भएका थिए भने आन्दोलनकारीतर्फ पनि २० जना घाइते भएका थिए ।

के भन्छ सरकार?

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीमाथि प्रहरीले हिजो बल प्रयोग गरेको आरोपमा मंगलबार प्रष्टीकरण दिएका हुन्। उनले मिटरब्याजीको समुहभित्रबाट प्रहरीमाथि ढुंगा-ईंट्टा प्रहार भएपछि घटना भएको बताए।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सोमबारको घटनाप्रति दुख व्यक्त गर्दै मिटरब्याज पिडितलाई कसरी न्याय दिने भन्नेमा सरकारले पहल अगाडि बढाइसकेको र हर हालतमा न्याय दिने प्रतिवद्धता व्यक्त गरे।

मानवअधिकार आयोगको ध्यानाकर्षण

मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गरेकोमा राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरेर न्यायको माग राखी विगत केही दिनदेखि काठमाण्डुको शान्ति वाटिकामा धर्नामा बसेका मिटरब्याज पीडितहरूमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवं धरपकड गरिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको हो । घटनाको आयोगले स्थलगत अनुगमन गरेको छ ।

मिटरब्याज पीडितहरू प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लागाइएको र सोही क्रममा झडप भएको आयोगको अनुगमनबाट पाइएको छ।

सो क्रममा धर्नामा रहेका व्यक्तिहरूलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको पीडितहरूले प्रयोग गरिरहेको खाना पकाउने ग्याँस, खाद्यान्नलगायतका सामग्रीहरू जबर्जस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धाहरूलाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएको आयोगको अनुगमनबाट पाइएको छ ।