आपूर्ति सहज बनाउन मन्त्री भट्ट नै सक्रिय

आपूर्ति सहज बनाउन मन्त्री भट्ट नै सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – झन्डै एक महिना लकडाउन हुँदा पनि अत्यावश्यक वस्तुको सहजता खलबलिएको छैन। आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयं खटिएका छन्। ‘नेपालको आपूर्ति व्यवस्था आयातमा आधारित छ’, मन्त्री भट्टले भने, ‘अहिलेको आपूर्ति व्यवस्थापन सहज हुनुको प्रमुख कारण बिनारोकावट आयात सम्भव गराउनु हो।’

त्यो वातावरण बनाउन उनी उद्योगी, व्यवसायी, खुद्रा तथा साना व्यापारी, ढुवानीकर्ता, आपूर्तिकर्ता र तिनका व्यावसायिक संघ, संगठनहरूसँग नियमित छलफल गरिरहेका हुन्छन्। ‘भारतको पश्चिम बंगाल सरकारले आफ्ना नाका बन्द गरेकाले काँकडभिट्टाबाट आउन नसकेका ट्रकलाई विराटनगरबाट समेत ल्याइएको छ’, उनले भने, ‘अन्य नाकाबाट अत्यावश्यक वस्तुको आयात बढेको छ।’

अत्यावश्यकीय दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्तिलाई सहज बनाउन त्यस्ता वस्तु बिक्रीवितरण गर्ने पसल खुला छन्। बिहान र साँझ विशेष भीड हुने त्यस्ता पसल सुरक्षाकर्मीको निगरानीमा सञ्चालन भइरहेका छन्।

सुरुमा उपभोक्ताले अनावश्यक ग्यास स्टक गर्दा केही अभाव देखिए पनि ग्यास आपूर्ति सहज भएको उनले बताए। ‘अहिले ग्यासको आपूर्ति पुग्दो गरी बढेको छ’, उनले भने। स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागको सक्रियतामा बजार कडाइ गर्दा विगतमा जस्तो कालोबजारी हुन पाएन। निजी क्षेत्रका व्यवसायीले पनि आपूर्ति व्यवस्थापनमा सहयोग गरेको मन्त्री भट्टले बताए।

भर्खरै जारी उपभोक्ता ऐनले पाँच वर्षसम्म कैद सजाय व्यवस्था गरेपछि कालोबजारी गर्ने व्यवसायी कम रहेको उनको धारणा छ। सरकार र निजी क्षेत्रसँग चार–पाँच महिनालाई धान्ने जगेडा रहेकाले अभावको कुनै गुनासो नआएको उनको भनाइ छ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।