विवाह गर्नुअघि वडा कार्यालयबाट लाइसेन्स लिने व्यवस्था गर्नुपर्छ : डा. आरजु राणा

विवाह गर्नुअघि वडा कार्यालयबाट लाइसेन्स लिने व्यवस्था गर्नुपर्छ : डा. आरजु राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापित डा. आरजु राणा देउवाले बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति डा. देउवाले सामाजिक सचेतनाका साथै कानूनी रूपमा प्रबन्ध गरेर बालविवाह नियन्त्रण गर्नुपर्ने बताइन् ।

सामाजिक रूपमा बालबालिकालाई किशोरावस्थामा आउने परिवर्तनबारे सचेत गराउने, अभिभावकलाई बालविवाह गर्दा हुँदा बच्चाले भोग्नुपर्ने शारीरिक तथा मानसिक समस्याबारे सचेत गराउनुपर्ने भन्दै देउवाले कानूनी रूपमा वडाबाट अनुमति लिएर विहे गर्ने प्रबन्ध गरेमा बालविवाह नियन्त्रण हुने बताइन् ।

नेपालमा १५ वर्षमुनिको बालविवाह ८ प्रतिशत र १८ वर्षमुनिको बालविवाह ३३ प्रतिशत गरी कूल ४१ प्रतिशत बालविवाह रहेको र भयावह अवस्था रहेको भन्दै सभापति डा. देउवाले सन् २०३० सम्म नेपालले बालविवाह अन्त्य गर्नुपर्ने लक्ष्य हासिल गर्न सामाजिक र कानूनी प्रबन्ध गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘२०३० सम्म लक्ष्य प्राप्ति गर्नुपर्ने भएकाले सामाजिक सचेतनाबाट मात्रै होइन, कानूनी रूपमा प्रबन्ध गर्नुपर्छ । अब ६ वर्ष मात्रै बाँकी छ । लाइसेन्स लिएर बिहे गर्ने एकदमै राम्रो उपाय हुनसक्छ । वडाबाट लाइसेन्स लिने व्यवस्थाले बालविवाह अन्त्यमा राम्रो योगदान गर्छ । यसले बिहेको निहुँमा हुने बेचबिखन पनि रोक्छ ।’

बालविवाह गर्ने परिवारलाई सरकारी सुविधाबाट वञ्चित गर्ने विकल्पमा पनि जानुपर्ने उनले बताएकी छन् ।