आरजुमाथि ओलीको कटाक्ष : देउवाको वडामा कांग्रेस हारेछ, बजेट नजाने भयो


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला डा. आरजु राणाप्रति कटाक्ष गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथि माग लिँदै उनले आरजुलाई लक्षित गरेर प्रधानमन्त्री शेरबहादुर देउवामाथि घोचपेच गरेका हुन् ।

‘संयोगकै कुरा हो डडेल्धुरामा मेडिकल कलेज जाने भएछ । अमरगढी जित्या छ कि छैन ? अमरगढी जितेको भए त ठिकै छ । कुन कुनामा लगेर राख्नुपर्ने हो जित्या छैन भने,’ ओलीले भने, ‘सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा केही जाने भएन किन भने रुखले जितेन कि क्या हो ? लोकतन्त्रको हरिविजोग यो भन्दा के हुन्छ ? ।’

उनले डा. राणाले चुनावी प्रचारका क्रममा डडेल्धुरामा दिएको अभिव्यक्तितर्फ व्यंग्य गर्दै प्रधानमन्त्रीको वडामा केही नजाने टिप्पणी गरेका हुन् । प्रधानमन्त्री देउवाको मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेस पराजित भएको छ ।

चुनावी प्रचारका लागि डडेल्धुरा पुगेका बेला आरजुले कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement