रेशम चौधरीकाे रिहाईको ‘बार्गेनिङ पोइन्ट’मा रञ्जिता, सेफ जोनको खोजीमा आरजु

रेशम चौधरीकाे रिहाईको ‘बार्गेनिङ पोइन्ट’मा रञ्जिता, सेफ जोनको खोजीमा आरजु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तयारी सुरु गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उन्मुक्ति पार्टीले जेलमा रहेका रेशमलाई छुटाउने गरी चुनावी रणनीति बनाएको छ । सुदूरपश्चिममा छोटो समयमा राम्रो पकड बनाएको उक्त पार्टीले यसपटक सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लामा आफ्ना उम्मेदवार उठाउने तयारी गरेको छ ।

कैलाली, कञ्चनपुर र बर्दियालाई आफ्नो प्रभाव क्षेत्र मानेको उक्त पार्टीबाट उम्मेद्वारका रुपमा रेशमकी पत्नी रञ्जिता श्रेष्ठले टीकापुर–१ बाट चुनाव लड्ने चर्चा चलेको छ । तर पार्टीले रञ्जितालाई रेशमको रिहाइको ‘बार्गेनिङ पोइन्ट’मा राख्ने नीति अँगिकार गरेको उक्त पार्टीका एक केन्द्रीय नेताले बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवा लड्ने निर्वाचन क्षेत्रमा रञ्जितालाई अघि सार्ने तयारी पार्टीले गरेको बताए । ‘टीकापुर १ बाट रञ्जिता लड्ने चर्चा छ, तर उहाँलाई टीकापुर नभएर कम सम्भावना भएको क्षेत्रमा उठाउने पार्टीको तयारी छ । टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ, त्यसैले टीकापुरबाट उहाँ उठ्नुहुन्छ भन्नु हल्ला मात्रै हो,’ ती नेताले भने ।

प्रधानमन्त्री पत्नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर आफूहरू बसेको उनले बताए । ‘आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर विभेद गर्नेलाई हराउने हो,’ उनले भने।

रञ्जिता टीकापुरमा ‘सेफ’ रहे पनि पार्टीले आरजुलाई हराउनका लागि भए पनि प्रतिस्पर्धामा रञ्जितालाई अघि सार्ने तयारी गरेको हो । यसो गर्दा पार्टी अध्यक्ष नै पराजित हुने अवस्था आउन सक्नेबारे जानकार पार्टी भए पनि आरजुको बलियो प्रतिस्पर्धी बन्नसक्ने र कम्तीमा आरजुलाई हराउन सकिनेमा आफूहरू विश्वस्त रहेको ती नेताले बताए ।

हालसम्म आरजु कहाँबाट चुनाव लड्छिन् भन्ने पक्का भइसकेको छैन । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा ४ हजार ८८० मतान्तरले पराजित भएकी थिइन् ।

कैलाली ५ बाट आरजु लड्नसक्ने चर्चा चले पनि बालुवाटार निकट स्रोतकाअनुसार आरजुले उक्त क्षेत्रलाई सुरक्षित मानेकी छैनन् । जसकारण उनले कञ्चनपुर-३ या बर्दिया-२ बाट चुनाव लड्न सक्ने सम्भावना रहेको स्रोतको दावी छ ।

आगामी निर्वाचनपछि सरकारको नेतृत्व लिनेगरि तयारी थालेको चर्चाको बीच आरजुले निर्वाचन जित्ने सुनिश्चित् भएको सेफ जोनको खोजीमा उनले आफ्नो माइतीको पुर्खौली जिल्ला बर्दिया ताकेको चर्चा चलेको छ ।

नागरिक उन्मुक्ति पार्टीले देउवाको सोही कमजोरीमा हिर्काएर रञ्जितालाई रेशमको रिहाइका लागि ‘बार्गेनिङ पोइन्ट’मा राखेको छ । यदि देउवा दम्पत्तीले रेशमलाई रिहाइ गर्न पहलकदमी गर्ने सहमति गरे उन्मुक्ति पार्टी नै आरजुलाई जिताउन सहयोग गर्ने ती केन्द्रीय नेता बताउँछन् ।

हत्या अभियोगमा जेलभित्र रहेका रेशमले पनि प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारी गरेका छन् । चुनावअघि नै रेशम रिहाइ हुने उन्मुक्ति पार्टीको विश्वास छ । उन्मुक्ति पार्टीले रेशम बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने दाबी गरेको छ । यद्पी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ले भने उनलाई उम्मेदवार हुन अयोग्य ठह¥याएको छ ।