अवकाश प्राप्त प्रहरी निरीक्षक हाछेथु भन्छन्ः ‘सपना पनि सिठ्ठी फुकेको देख्छु’

अवकाश प्राप्त प्रहरी निरीक्षक हाछेथु भन्छन्ः ‘सपना पनि सिठ्ठी फुकेको देख्छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ‘जहाँ जाम त्यहाँ सीताराम’ भन्ने भनाइ एकादेशको कथाजस्तै भइसकेको छ। तर, नेपाल प्रहरीभित्र रहेर उपत्यकाको ट्राफिक व्यवस्थानमा नाम कमाएका प्रहरी निरीक्षक सीताराम हाछेथु पूर्वप्रहरी भइसकेका छन्।

नेपाल प्रहरीका ‘रियल हिरो’का रूपमा चिनिएका हाछेथुले नेपाल प्रहरीमा ३० वर्ष सेवा गरेर हालै अवकाश पाएका हुन्। नेपाल प्रहरीभित्र आफूलाई विभिन्न उपनामले चिनाउन थुप्रै प्रहरी अधिकृतले मिडियाबाजी गरे पनि हाछेथुको दाँजोमा कोही पनि पुग्न नसकेको टिप्पणी गरिन्छ।

राजधानीको ट्राफिक व्यवस्थापनका लागि हरेक प्रहरी अधिकृतको मुखमा झुन्डिने नाम हो– सीताराम। त्यसैले होला उनले अवकाश पाएपछि उनको दाँजोमा काम गर्ने ट्राफिक प्रहरीको खोजीमा प्रहरी संगठन नै लागेको छ। तथापि लामो प्रहरी जीवनपछि अवकाश पाएका सीतारामको काँधमा प्रहरी संगठनले फेरि अर्को जिम्मेवारी सुम्पेको छ। त्यो हो महानगरीय ट्राफिक वृत्त भक्तपुरको नयाँ भवन बनाउने। स्थानीय समाजसेवीदेखि प्रहरी अधिकृतसम्मले उक्त भवन निर्माणको संयोजक नै बनाइदिएका छन् सीतारामलाई।

लामो प्रहरी जीवनपछि अवकाश पाएका सीताराम एक महिनाको आरामपछि पुनः आफ्नो पूर्वपेसामा फर्कने तयारीमा छन्। बाँकी जीवन ट्राफिक व्यवस्थापनमा नै बिताउने प्रण गर्दै उनी भन्छन्– ‘ट्राफिक व्यवस्थापन राजधानीको सबैभन्दा ठूलो चुनौती हो। यसको व्यवस्थापनमा ध्यान दिन सकेनौं भने यो क्यान्सरभन्दा पनि भयावह हुन सक्छ।’ उनी भन्छन्– ‘हामीले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्दै जरिवाना मात्रै ग¥यौं, यसले समस्या समाधान भएन, अबको विकल्प भनेको जनचेतना नै हो। त्यसैले मेरो बाँकी जीवन ट्राफिक व्यवस्थानमै बित्नेछ।’

सीताराम भावुक हुँदै थप्छन्– ‘अब टोल–टोलमा गएर ट्राफिक नियमबारे जानकारी गराउने योजना बनाएको छु। यसका लागि सहयोगी हातहरू उत्पादन गर्दै उनीहरूलाई पनि सडकमा उतारी नियम उल्लङ्घन गर्नेलाई नियम सिकाउने अभियान सञ्चालन गर्छु।’ उनलाई राम्रैसँग बिदा गर्ने सोच बनाएको थियो तालुकदार अड्डा महानगरीय ट्राफिक प्रहरी महाशाखाले तर सीतारामले नै मानेनन्। उनले हाकिमलाई भने– ‘मैले ठूलो काम केही गरेको छैन, बिदाइ सामान्य भए हुन्छ।’

महाशाखाले बिदाइ सामान्य ढंगले नै ग¥यो। सीताराम वनबास जाने नभई फेरि सडकमा नै आउने प्रण गर्दै भन्छन्– ‘केही समयको विश्रामपछि मेरो नियमित जीवन सडकमा नै हुनेछ।’ अहिले पनि सपनामा सिठ्ठी फुकेको र सवारी व्यवस्थापन गरेको देख्छु। सेवा अवधिको ३० वर्षमा कालिमाटीदेखि सातदोवाटोसम्म ट्राफिक प्रहरीका भवन बनाउन सफल भएका थिए,। सीतारामभन्छन्– त्यस्ता काम गर्नुपर्ने अवस्था आए फेरि पनि तयार छु, अवसर आए त्यसको नेतृत्व लिन पछि हट्दिन्। प्रहरी संगठनको सदस्यका रूपमा नरहे पनि सल्लाहकारका रूपमा सघाउनेछु।यो खबर आजको समाचारपत्रमा छ ।