काठमाण्डु – नेकपा एमालेका सबैभन्दा कान्छो उम्मेदवार हुन २८ वर्षीय अब्दुस मियाँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनजका लागि एमालेले उनलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्दैछन् ।
सधै चितवन–३ बाट निर्वाचन लड्ने प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएसँगै मियाँ चर्चामा छन् । एमाले प्रवेश गर्नुअघि मियाँले काठमाण्डु–६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । तर, उनले ११ असारमै उम्मेदवारी घोषणा गरे पनि लगत्तै एमाले प्रवेश गरे ।
रवीन्द्र मिश्र नेतृत्वको तत्कालिन साझा पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका उनलाई एमालेले प्रचण्डसँग प्रतिस्पर्धामा उतारेको हो । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा आएका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा समेत थिए । गत वैशाखको स्थानीय तह चुनावको मतलाई आधार मान्ने हो भने गोरखामा माओवादी केन्द्र निकै बलियो देखिन्छ ।
डा. बाबुराम भट्टराईले आफ्नो गृहपालिका पालुङटार नगरपालिकामा एमालेसँग तालमेल गरेर उम्मेदवार उठाउँदा पनि एउटा वडा मात्र जित्न सकेका थिए । उनले वैकल्पिक राजनीतिले खेप्नुपरेको आरोह–अवरोहका कारण आमनागरिकसमक्ष गरेका प्रतिबद्धता पूरा गर्न नसकेकाले एमालेबाट प्रतिनिधिसभाको चुनाव लड्न लागेको बताए ।युवाहरुमाझ लोकप्रिय रहेका उनी संसद छिर्न सक्लान ? यो हेर्न भने मंसिर ४ नै कुनुपर्ने हुन्छ ।




प्रतिक्रिया