अभिषेक गिरीः काँग्रेसले टाउकामा टेकाएर हुर्काएको कुख्यात गुण्डा नाइके

अभिषेक गिरीः काँग्रेसले टाउकामा टेकाएर हुर्काएको कुख्यात गुण्डा नाइके

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अभिषेक गिरी विराटनगरका कुख्यात गुण्डा नाइके हुन् ।

एमालेका पर्शुराम बस्नेत र गिरी समूहको ‘दादागिरी’ का कारण कुनै बेला विराटनगर अशान्त थियो ।

अपहरण र शरीर बन्धक मुद्धामा ९ वर्ष जेल बसेर छुटेका उनी पछिल्लो समय काँग्रेस राजनीतिमा सक्रिय थिए ।

उनै गिरीलाई प्रहरीले मोरङ कारागारका कैदी/बन्दीको रासन र भत्ताको रकम घोटाला गरेको अभियोगमा शनिबार बिहान विराटनगर–४ मधुमारास्थित निवासबाटै पक्राउ गरेको छ ।

प्रहरीले सुरुमा अवैध हतियार राखेको सूचना आएको भन्दै गिरी निवासको खानतलासी गरेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कबित कटवालले कारागारका कैदी÷बन्दीलाई आउने रकम गिरीले हिनामिना गरेको उजुरीका आधारमा पक्राउ गरिएको बताए ।

‘कारागारका कैदी/बन्दीलाई प्राप्त हुने भत्तालगायतको रकम लगेको उजुरी परेको थियो’, कटवालले भने, ‘केही तथ्य पनि भेटिएका छन् । हामी थप अनुसन्धान गर्दैछौं ।’


गिरी अपरहण मुद्धामा जेल भुक्तानीको सिलसिलामा लामो समय मोरङ कारागार बसेका थिए । कैद भुक्तानीपछि पनि उनले जेलको भित्री प्रशासन चलाउँदै आएको चर्चा थियो । जेलभित्र हुँदा उनी चौकीदार थिए ।

शेखर कोइरालाका प्रिय छन् गिरी

गिरीसहित उनको समूहका १ सय ५० जनालाई २८ मंसिर, २०८३ मा काँग्रेस पार्टी प्रवेश गरेका थिए ।

विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेस नेताहरुले गिरीको प्रवेशलाई काँग्रेसप्रति युवाको आकर्षण बढेको रुपमा व्याख्या गरेका थिए ।

उनीहरुले गिरीको आगमनले मोरङमा काँग्रेस बलियो हुने दाबी गरेका थिए । गिरी नेता शेखर कोइरालासँग निकट मानिन्छन् ।

गिरीलाई कारागार सरुवा गर्न काँग्रेसले दिएको थियो दबाब


कारागारबाटै गुण्डागर्दी ‘ग्याङ’ सञ्चालन गरेपछि गिरीलाई ०७४ सालमा मोरङ जिल्ला कारागारबाट डिल्ली बजार कारागार सरुवा गरिएको थियो ।

चौकीदारको भूमिकामा रहेका गिरीले कारागारमा आफू इतर कैदी/बन्दीमाथि कुटपिट र यातना दिने तथा रकम असुली गर्ने गर्थे ।

सोही विषयमा सार्वजनिक सञ्चार माध्यममा समाचार आएपछि २३ चैत २०७४ मा उनलाई डिल्लीबजार कारागार सरुवा गरियो ।

काँग्रेस सरकारमा आएपछि नेताहरुको दबाबमा गिरीलाई २०७८ भदौमा कारागार व्यवस्थापन विभागले फेरि मोरङ कारागार सरुवा गर्ने निर्णय गरेको थियो ।

१७ भदौ २०७८ मा कारागार स्थानान्तरणको निर्णय भयो । गिरीलाई डिल्ली बजारबाट १६ कात्तिक २०७८ मा मोरङ कारागार लगियो । तर, आफूहरु असुरक्षित हुने भन्दै कैदी÷बन्दी प्रदर्शनमा उत्रिए ।

कैदी/बन्दी मात्र होइन, उनीहरुका आफन्तहरुले समेत मोरङ कारागारको गेटमा ठूलो संख्यामा जम्मा भएर प्रदर्शन गरे ।

केही समय सप्तरी कारागार राखेर उनलाई दुई सातापछि पुनः मोरङ नै लगियो ।

मोरङ कारागारमा प्रवेशमा रोक लगाउन माग गर्दै प्रदर्शनमा उत्रिएका कैदी/बन्दीमाथि गिरीले कैदी/बन्दीकै आफू पक्षधर समूह परिचालन गरी कुटाए ।

२४ कात्तिक ०७८ मा गिरीले योजनाबद्ध रुपमा मोरङ कारागारमा झडप गराए ।

त्यस क्रममा गिरीको विरोधमा रहेका चौकीदार किरण गुरुङसहित ६ जना घाइते भए ।

त्यसपछि काँग्रेस नेताहरुकै दबाबमा रातारात चौकीदार गुरुङसहित १४ कैदीलाई झुम्कासहित झापा र इलाम कारागार सरुवा गरिएको थियो ।

तर, गिरी पक्षका भने कोही पनि सरुवा भएनन् ।

कारागारमा दुई समूहबीच पटकपटक झडप मात्र भएन, गिरीलाई कारागार सरुवा गर्न दबाब दिँदै विराटनगर महानगर समितिका सह–सचिव सचिन पोखरेलको नेतृत्वमा काँग्रेसले कारागारबाहिर प्रदर्शन नै गरेको थियो ।

कारागारभित्र भएको दुई समूहको झडपमा गिरी पक्षधर कैदी गोपाल शर्माको मृत्यु भयो ।

पक्राउ पर्नुअघि शर्मा नेपाल ट्रेड युनियन काँग्रेस, मोरङका अध्यक्ष थिए । बहुमत कैदी/बन्दीले गिरीलाई मोरङ कारागारमा नल्याउन माग गर्दै लिखित निवेदन पनि दिए ।

अन्ततः काँग्रेस नेताहरुको दबाबमा कारागार प्रशासनले उनलाई सप्तरीबाट मोरङ ल्यायो ।

यतिसम्मकी गिरीलाई चौकीदारको जिम्मेवारी दिन कारागार प्रशासनले चौकीदार नवीन राईलाई झुम्का कारागार स्थानान्तरण गरेको थियो ।