काठमाण्डु – देशभर विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका–२२ मटेरीयामा प्र २–००३ त ६०८८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक २५ वर्षीय राजेश रामको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६ नरैनापुरमा लु३त २४५३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार देवदह नगरपालिका–८ घर भई शुद्धोधन गाउँपालिका–५ मनपकडी बस्ने २० वर्षीय रोहित चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जना उपचारपश्चात डिस्चार्ज भएका छन् । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलास्थित सडकमा लु१ख ८६०८ नम्बरको ट्रक र सुप प्रदेश ०१–००१ ख ३३९२ नम्बरको बस एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीया निता खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनमा घाइते भएका बसमा सवार १२ जनाको सञ्जिवनी अस्पताल चन्द्रौटा र चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया