काठमाण्डु – देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारीसाधन दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–८ सम्झना चोकमा मे१ह ५८०५ नम्बरको अटोले २ वटा साइकललाई ठक्कर दिई आईतबार साँझ दुर्घटना हुँदा साइकलमा सवार शिवसताक्षी नगरपालिका–८ बस्ने ३१ वर्षीय दिलिप श्रेष्ठकी छोरी ९ वर्षीया शितल श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दिलिप श्रेष्ठ, उनकै छोरी ११ वर्षीया गोमा श्रेष्ठ र अटो चालकको अस्पतालमा उपचार भइरहेको छ ।
तनहुँको आबुँखैरेनी गाउँपालिका–१ गिराउनचौरस्थित सडकमा मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरेको बा१८च ५९२१ नम्बरको बलेरो जीप सडकबाट करीब ५०० मिटर तल खसेर गएराति दुर्घटना हुँदा जीपमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा आबुँखैरेनी गाउँपालिका–६ छापस्वारा बस्ने ७२ वर्षीय आसबिर गुरूङको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएका ब्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरूङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको आबुँखैरेनी अस्पताल र १० जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
पाल्पाको माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित सडकमा लु२ख ५६१ नम्बरको टिप्पर सोमबार बिहान दुर्घटना हुँदा चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पिउलिहवा बस्ने २४ वर्षीय प्रदिप कुमाल र सहचालक १८ वर्षीय मनिश परियारको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया