छुट्टाछुट्टै दुर्घटनामा देशभर ५ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा देशभर ५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँस्थित सडकमा त्रिशुलीबाट भाल्चेतर्फ जाँदै गरेको ना५त ८१६२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक रौतहट मौलापुर नगरपालिका–६ पथराबुद्धरामपुर बस्ने १८ वर्षीय धिरज यादवको घट्नास्थलमै मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–६ प्रेम बस्तीस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनले ना१७प ७३१३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–३ घर भएका ४० वर्षीय अमरदेव महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारीसाधनलाई प्रहरीले खोजिरहेको छ ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ एकलास्थित सडकमा लु८७प ४२१२ नम्बर र लु२४प ७८५ नम्बरका २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा लु८७प ४२१२ नम्बरको मोटरसाइकलमा सवार कपिलवस्तु शिवराज नगरपालिका–३ चन्द्रौटा घर भएका २४ वर्षीय राजमन लोनियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लु८७प ४२१२ नम्बरको मोटरसाइकलमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने लु२४प ७८५ नम्बरको मोटरसाइकल चालकको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा र सोही मोटरसाइकलमा सवार अन्य २ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

रौतहटको गढिमाइ नगरपालिका–९ इनर्वास्थित सडकमा मिठुअवाबाट जन्ती लिएर श्रीपुरतर्फ जाँदै गरेको ना७त १४९९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्रयाक्टरमा सवार माधवनारायण नगरपालिका–५ मिठुअवा बस्ने ३५ वर्षीय धर्मेन्द्र रामको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार १ जनाको ग्राण्डी अस्पताल गरूडामा उपचारको भइरहेको छ ।

हाल फरार टन्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित सडकमा बाग्मती प्रदेश ०१–०२९ प ९०४६ नम्बरको बोलेरो गाडी आफैं अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक रामेछापको मन्थली घर भई भक्तपुर सिपाडोल बस्ने २१ वर्षीय रामकुमार रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।