मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

फाइल तस्विर ।

काठमाण्डु- नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका छन् ।

गएराति सरावल गाउँपालिका-१ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं. ३०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियार रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए । परियार मोटरसाइकलको पछाडि सवार थिए ।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका-३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल सडकको बीचमा रहेको पेटीमा ठोकिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई तत्कालै उपचारको लागि लुम्बिनी सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।