काठमाण्डु- रौतहटमा आइतबार कार र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ पश्चिम लचकामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कार र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला रौतहट गरुडा नगरपालिका–३ गेडही टोल बस्ने अन्दाजी वर्ष ६० का बलिराम सहनि र सोही मोटरसाइकलमा पछाडि सवार छोरी वर्ष ४० की उर्मिला देवी सहनिको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएको छ ।
यस्तै, पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ उमरी चोकमा बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा सवार १० जना घाइते भएका छन्।
आइतबार बुटवलबाट सुर्खेततर्फ गइरहेको लु २ त ६८१५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ६४५९ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजनबिक्रम शाहले दुर्घटनामा मुगुकी २० वर्षीया रमना बिक गम्भीर घाइते भएकी बताएका छन्।




प्रतिक्रिया