काठमाण्डु–भारतको झारखण्ड राज्यमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनामा १८ जना हिन्दू तीर्थयात्रीको ज्यान गएको छ।
खाना पकाउने ग्यास सिलिन्डर लोड गरिएको ट्रक र तीर्थयात्री बोकेको बस एकआपसमा ठोक्किँदा यो दुर्घटना भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।
दुर्घटना झारखण्डको देवघर जिल्लामा भएको हो। घटनास्थलबाट प्राप्त दृश्यहरूमा बस पूर्णरूपमा क्षतिग्रस्त देखिन्छ, विशेषगरी पछाडिको भाग जलेर नष्ट भएको छ।
स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू श्रावण महिनाको अवसरमा भगवान् शिवलाई अर्पण गर्न गङ्गाबाट पवित्र जल लिएर तीर्थयात्रामा निस्किएको जानकारी दिएका छन्। “बस र ट्रकको टक्करमा १८ जना भक्तजनको मृत्यु भएको छ,” दुबेले सामाजिक सञ्जालमार्फत लेखेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा भनिएको छ, “झारखण्डको देवघरमा भएको सडक दुर्घटना अत्यन्तै पीडादायक छ।”




प्रतिक्रिया