काठमाण्डु– खोटाङबाट सिरहा फर्किंदै गरेका दर्शनार्थी सवार माइक्रोबस कदुवा डौँठेखोला नजिक दुर्घटनामा परेको छ। दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस बिहान करिब ९ बजे जयराम–हलेसी सडकखण्डमा २०० मिटर तल खसेको हो। माइक्रोबसमा १६ जना यात्रु सवार थिए।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर भएकाले काठमाण्डुस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। बाँकी ८ जनाको उपचार घुर्मीको जनसेवा पोलिक्लिनिकमा भइरहेको छ, जसमा अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ।
हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष तथा नगर प्रवक्ता कमल गिरीका अनुसार दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार कार्य गरिएको हो।
घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।
दुर्घटनामा परेका यात्रुहरू हलेसीमा आयोजित ‘बोलबम मेला’ सकेर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन्। बुट्यान र झाडी भएको क्षेत्र भएकाले ठूलो मानवीय क्षति हुन नपाएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।




प्रतिक्रिया