छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

काठमाण्डु महानगरपालिका–१६ कालधारा चोकस्थित सडकमा बाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा४१प ६७९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ घर भएका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका–९ कुईनिठीस्थित सडकमा सुप प्र ०१–००२ त ६०२९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक स्थानीय २३ वर्षीय विवेक थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कौशिल्या अस्पताल बाँसगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१४ बरौजी चोकस्थित सडकमा बा प्र ०६–००२ प ७४१९ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२२ पटिहानी बस्ने २६ वर्षीय कबिन महतोको मृत्यु भएको छ । मोटरसाइकल ना२५प ९७४९ नम्बरको स्कुटरसँग ठक्कर खाँदा मोटरसाइकल चालक महतो उछिट्टिएर बा प्र ०६–००१ क ०२०६ नम्बरको बसमा ठक्कर खाई गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका–४ फूटबल ग्राउण्डस्थित सडकमा सिन्धुपाल्चोक बाह्रबिसेबाट काठमाण्डुतर्फ जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसको ठक्करबाट पैदलयात्री स्थानीय ७० वर्षीय दिलबहादुर श्रेष्ठको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।