काठमाण्डु – विराटनगरमा मोटरसाइकल दुर्घटना राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
बिहीबार बिहान मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ।
क्रिकेटका राष्ट्रिय खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए। ब्याट्सम्यान रहेका उनी केही फ्रेन्चआई लिगसमेत खेलिसकेका छन् ।
यस्तै काठमाण्डुको बालाजुमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
काठमाण्डु महानगरपालिका वडा नम्बर १६ बालाजु बाइसधारा मन्दिर नजिकै बा. प्र.०१–००६ ख ३४५४ नम्बरको टिफरले लु. ५९ प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा अर्घाखाँचीको मालारानी गाउँपालिका-५ घर भई हाल काठमाण्डुको बसुन्धरा बस्ने २१ वर्षीय सागर खड्काको मृत्यु भएको एसपी भट्टराईले बताए।
दुर्घटनामा अर्घाखाँची सन्धिखर्क नगरपालिका घर भई हाल काठमाडौँ(१६ बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउत़ गम्भीर घाइते भएका छन्। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया