काठमाण्डु – पोखराबाट काठमाण्डु आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन्।
सोमबार बिहान साढे १ बजे माछापुच्छ्रे ट्राभल्सको ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो।
हालसम्म दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ । घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।
प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । यसमध्ये पोखरामा ४३ जना चढेका थिए भने २ जना मुग्लिनबाट चढेका थिए ।
मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुलेको छैन। घटनास्थलमा तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ।





प्रतिक्रिया