दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु

दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गत २४ घण्टामा राजधानी काठमाडौंसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किँदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सडकमा द्रुतगतिमा रहेको कारले साइकललाई ठक्कर दिँदा सोही ठाउँका २६ वर्षीय साइकल चालक सोर्निमा चौधरी र साइकलमा सवार उनका ५ वर्षीय छोरा कृष्टलको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।

कैलालीकै गोदावरी नगरपालिका–४ बुढीतोलामा चालकले मोटरसाइकलको सन्तुलन नियन्त्रण गर्न नसक्दा २९ वर्षीय भक्त खनालको मृत्यु भएको भने लम्कीचुहा नगरपालिका–८ गप्का सडकमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक सोही नगरपालिका–९ प्रतापपुरमा स्थायी बसोबास भएका ४० वर्षीय टेकराज घिमिरेको मृत्यु भएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा रोकर राखेको ट्यांकरलाई अर्को ट्यांकरले ठक्कर दिँदा रोकिएको ट्यांकरका चालक भारतीय नागरिकको ज्यान गएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ गजरियामा बालुवा बोकेको ट्रयाक्टरले सोही गाउँपालिकाका रमेश शर्माको छोरी ३ वर्षीया सम्झना कुमारीलाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको र सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।